S Khabar

उजेलीको अँध्यारो कथा : विदेशबाट पैसाको सट्टा छोरो बोकेर फर्कनुपर्‍यो !

तीन वर्ष विदेशको, अनि १२ महिना नेपालको बास । परिवार त के, गाउँ नै देख्न पाएकी छैनन्, उनले ।

छोराछोरी, आफन्त र गाउँलेको याद आउँछ । गाउँ जानको लागि बेलाबेला खुट्टा पनि उचाल्छिन् । तर पाइला रोकिन्छ । गाउँ समाजले के भन्ला ? आमा भन्दै पछि लाग्ने को हो भनेर कसैले सोध्यो भने के जवाफ दिने ? एकै शब्दमा दिन सकिने जवाफ छैन, उनीसँग । त्यसैले त घरगाउँ छाडेर काठमाण्डौमै बस्नु परेको छ ।

८ महिनासम्म विभिन्न संघसंस्थाको सेफ हाउसमा बस्दै आएकी उजेली (नाम परिवर्तन) अहिले आफैं पैसा कमाउँछिन् । कोठाभाडा र खानाखर्चको जोहो गर्छिन् ।उजेली ओमानबाट नेपाल फर्केको पनि एक वर्षभन्दा बढी हुन लाग्यो । काखमा रहेको तीन महिने छोरो अहिले आमाको पछ्यौरा समात्दै दगुर्न सक्ने भइसक्यो ।

उजेलीको घर सल्यान हो । उनी ३ वर्ष पहिले कामको सिलसिलमा ओमान पुगेकी थिइन् । ८ वर्षको छोरी, ६ वर्षको छोरा छोडेर विदेश जानु रहर थिएन । उनीहरुकै सपना पूरा गर्नको लागि जोखिम मोल्न तयार भएकी थिइन् । तर न उनले सोचे जस्तो पैसा कमाउन सकिन्, न अहिले छोराछोरीसँगै बस्न ।

‘अब त छोरी ११ वर्षकी भैसकी, छोरा ९ वर्षको भैसक्यो, के गर्छन् कसो गर्छन् भनेर पीर लाग्छ नि, तर के गर्नु ?’ उनले आफूभन्दा टाढा रहेका छोराछोरी सम्झिइन् ।
घरमा जाउँ त कसरी जाउँ ? सबैले प्रश्न गर्लान् – काखमा बोकेर कसलाई ल्याइस् ? यस्तै प्रश्नको भारीले थिच्ने डरले उनी नेपाल फर्केर पनि घर जान सकेकी छैनन् ।

अँध्यारोमा रुमल्लिएको उजेलीको जिन्दगी

७ कक्षामा पढ्दै गर्दा उजेलीको गाउँ नजिकैका एक युवासँग माया बस्यो । आमाबुवासँग कुरा राखेर उनैसँग बिहे गरिन् । १७ वर्षमै बिहे गरेकी उजेलीको बिहेपछि उज्याला दिन फर्केनन् । श्रीमान जाँडरक्सी खान्थे, झगडा गर्थे र बेलाबेला कुटपिट गर्थे ।

बिहेलगत्तै पेटमा बच्चा बस्यो, तर श्रीमानको व्यवहार सुध्रेन ।  उनी उल्टै घर छोडेर भारत पसे । कहिले घर आउने, कहिले बाहिर जाने श्रीमानको व्यवहारले उजेलीलाई दिक्क लाग्यो । परिवारले पनि उनीहरुलाई भागबण्डा लगाएर अलग गरिदिए । जसोतसो ९ वर्षसम्म त उनले झेलिन् । त्यसपछि छोराछोरीकै लागि विदेश जाने सपना बुन्न थालिन् ।

सासूससुराले पनि सहमति दिए । तर कहाँ जाने ? कसरी जाने ? मेलोमेसो थिएन । २०७४ साल साउनको महिना । गते थाहा थिएन ।  उजेली घाँस काट्न गएकी थिइन् । मोइबालमा घण्टी बज्यो । फोन उठाइन् ।

पुरुषको स्वर सुनियो – बहिनी तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ हो ?

उनले को हो ? के हो ? नसोध्दै फ्याट्टै भनिन् – हो दाइ म जान्छु ।

यति मात्रै के भनेकी थिइन्, फोन गर्नेले भनिहाले, ‘मेरो साथी छ काठमाण्डौमा, म उसलाई भन्छु, तपाईँ चिन्ता नलिइकन बस्नुहोस् । अब हामी विदेश पुर्‍याउँछौं तपाईँलाई ।’

यति भनेर उसले फोन राख्यो । त्यो मान्छे को हो ? फोन नम्बर कहाँबाट पायो ? विदेश जाने कुरा उसलाई कसरी थाहा भयो ? उजेलीलाई अचम्म लाग्यो । घर फर्केर सासूलाई सुनाइन् । ‘एकजनाले मलाई विदेश पठाइदिन्छु भन्दै फोन गर्‍यो, को रहेछ ?’

सासूले भनिन्, ‘गाउँकै एकजना हिजो आएको थियो, गाई किन्न । मैले उसैसँग तिम्रो विदेश जाने कुरा गरेको थिएँ । उही नै हो कि ?’ त्यो कुरा त्यहीँ सकियो । पछिल्लो दिन अर्को नचिनेको नम्बरबाट फोन आयो ।

‘बहिनी म काठमाण्डौबाट तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ रे हो ? म नेपाली महिलालाई विदेश पठाउँछु । भन्नुहोस् तपाईँ कुन देश जानुहुन्छ ?’

यति कुरा सुनेपछि उजेली पनि विदेश जाने सुरमा लागिन् । उनलाई फोन गर्ने सल्यानकै डिल्ली महर भन्ने केटा थियो ।

उजेलीलाई लिन डिल्ली सल्यानमै पुगे । न त उजेलीसँग पासपोर्ट थियो, न अरु कागजात र पैसा । डिल्लीले पासपोर्ट बनाउन सल्लाह दिए । उनी पासपोर्ट बनाउने तयारीमा लागिन् । तर, उनलाई सोचेजस्तो सहज भएन । कर्मचारी सबैले सोध्न थाले – तपाईँलाई किन चाहियो पासपोर्ट ? कुन देश जानुहुन्छ ? उजेलीलाई गाह्रो भयो ।

त्यसपछि डिल्ली आफैं उजेलीलाई लिएर गए । उनले कोसँग के के कुरा मिलायो उजेलीले पत्तै पाइनन् । उनको पासपोर्ट तयार भयो ।

पासपोर्ट तयार भएपछि उजेली २०७४ साल भदौ ५ गते डिल्लीसँगै काठमाण्डौ आइन् । सल्यानभन्दा बाहिरको जिल्ला नदेखेकी उनलाई काठमाण्डौ नै विदेशजस्तो थियो ।

डिल्लीले काठमाण्डौ ल्याएर आफ्नै कोठामा राखे । कोठामा उनी, श्रीमती र छोराछोरी थिए । ५ दिनसम्म उनी त्यहीँ बसिन् । त्यसपछि डिल्लीले बसपार्क लगे ।उजेलीले हवाइजहाजबाट जाने भनेको बसपार्क किन ल्याउनुभयो दाइ ? भन्दा डिल्लीले हैन अब भारतबाट जानुपर्ने भयो भने ।

बसपार्कमा पुग्दा उनी एक्लै थिइनन् । अरु दुई जना महिला पनि थिए । उजेलीसहित तीन जना महिलालाई लिन दिल्लीबाट हिरा नाम गरेकी महिला समेत बसपार्क पुगेकी थिइन् । हिराले आफ्नो घर सुर्खेत बताइन् । उनले नै उजेली र दुई महिलालाई कोहलपुर जाने बसमा चढाइन् र आफू पनि सँगै कोहलपुर गइन् । एक रात उनीहरु कोहलपुरमै बसे ।

‘होटलकी साहुनीले कसरी थाहा पाइन कुन्नी, हिरा नभएको बेला किन यसरी जोखिम मोलेर विदेश जानुहुन्छ बहिनी ? हेर खुब दुःख पाइन्छ रे यसरी नजानुहोस् भनेको कुरा अहिले अहिले पनि सम्झन्छु’ उजेलीले भनिन् ।

होटल साउनीको कुरा नसुनेजस्तै गरी उनीहरु तीनै जना भदौ १२ गते बिहानै कोहोलपुरबाट नेपालगञ्ज लागे । नेपालगञ्जबाट रिक्सा चढेर रुपडियाको नाका हुँदै भारत पसे । दुई दिनपछि दिल्ली पुगे ।

‘भित्रको अँध्यारो गल्लीबाट कहाँ कहाँ पुर्‍यायो म त दिल्लीमै पुग्दा डराएँ’, उजेलीले त्यो क्षण सम्झिइन् । दिल्ली पुग्दा झापाका अरु दुई जना महिला भेटिए । उनीहरु पाँचै जनालाई हिराले दिल्लीको समिर खान भन्ने व्यक्तिको जिम्मा लगाइन् ।

दिल्लीबाट समिरले पाँचै जनालाई श्रीलंका पुर्‍याए । श्रीलंका पुग्दा एउटा ठूलो गोदाम जस्तो घरमा ५०-६० भन्दा बढी नेपाली महिलाहरुसँग भेट भयो । तर एकअर्कासँग घेरै कुरा गर्न मिल्दैन थियो ।

एक दिन उनीहरु कोही लुगा धुँदै र कोही नुहाउँदै थिए । नुवाइधुवाइ गरेको पानी नजिकैको अर्को घरमा पसेछ । त्यसपछि त्यो घरको र अर्को घरको मालिकको झगडा पर्‍यो ।

अर्को घरधनीले यसरी महिला ल्याएर राखेको कुरा प्रहरीलाई भन्दिन्छु भनेपछि त्यतिबेलै सबै महिलालाई लुकाउन थालियो । ‘२२ दिनसम्म श्रीलंकामा लुकेर बस्दा मलाई त अब के हुन्छ भन्ने डर लागेको थियो, तर केही भएन’ ती दिनहरु सम्झँदै उजेलीले भनिन् ।

भदौ ५ गते सल्यान छोडेकी उजेली असोज १० गते ओमान पुगिन् । पुग्नेबित्तिकै काम सुरु भयो । उनले खाना पकाउने, लुगा धुने, घरको सरसफाइ गर्नेदेखि लिएर ७ जना बालबालिकाले हेरचाह गर्नु पथ्र्यो । पैसाको लागि अनेक दुःखकष्ट झेल्दै ओमान पुगेकी उजेलीलाई यी सबै काम गाह्रो भएन ।

भोक लागेको समयमा खान नपाउने, निद्रा लाग्दा सुत्न नपाउने सबै दुःखलाई बिर्सेर उजेलीले काम गरिन् । यसरी काम गर्दा महिनामा एक सय रुपैयाँ मिल्थ्यो ।  ‘बच्चा देख्दा आफ्ना छोराछोरीको याद आउँथ्यो, मालिकनीले पनि माया गर्थिन् । तर दशा बिग्रेपछि के हुन्छ हुन्छ’ उजेलीलाई फेरि त्यो क्षणको सम्झना आयो ।

मालिक र मालिकनीले राम्रै व्यवहार गर्थे । काममा दुःख भए पनि अरु ठिकै थियो । तर मालिकको भाइले उनीमाथि गिद्धे नजर लगाउन थाल्यो । घरमा कोही नभएको मौका छोप्दै उनको कोठामा आउन थाल्यो ।

सुरुमा त उजेलीले नाइँनास्ती गरिन् । तर उसले जबरजस्ती गर्न थाल्यो । यो कुरा घरमा भन्छु भन्दा मार्ने धम्की दियो । ज्यानै मार्ने धम्की दिएपछि उजेलीले सबै कुरा सहेर बस्नुको विकल्प भएन । मौका छोप्दै उजेलीलाई जबरजस्ती गर्न थाल्यो ।

उजेलीले घर मालिकको भाइले गर्ने कर्तुतबारे अर्को घरमा काम गर्ने नेपाली महिलालाई सुनाइन् । उनले पनि सबै सहनुको विकल्प नभएको भनिन् । उजेलीको पेटमा बच्चा बस्यो । बच्चा बसेको कुरा अरुलाई नभन्न फेरि उसले धम्की दियो । बच्चा फाल्न पनि दिएन ।

दिनदिनै पेट बढ्दै गयो । अरुले थाहा पाउने डरले उनले फराकिलो म्याक्सी लगाउन थालिन् । ९ महिनासँग पेट त लुकाइन् । तर, बच्चा जन्मने बेला कसरी लुकाउन सक्नु ?

पाँच दिनअघिदेखि नै उनलाई व्यथा लाग्न थाल्यो । मालिकले के भयो भनेर सोध्दा उजेलीले टाउको दुख्यो, हात खुट्टा दुख्यो भनिन् । चार दिनसम्म उनी बिरामी पर्दा मालिकले नै अस्पताल लिएर गए । अस्पताल पुग्दा उनलाई प्रसूति गराउन भन्दै अर्को अस्पतालमा लगियो ।

अप्रेशन गरेर बच्चा निकाल्नु पर्‍यो । बच्चा जन्मेपछि मालिकले उनलाई अस्पतालमै छोडिदिए । त्यसपछि उजेली अलपत्र परिन् । अस्पतालले प्रहरीलाई खबर गर्‍यो ।प्रहरीले सोधपुछ गर्दा उजेलीले जवाफ दिन सकिनन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

सुत्केरीको चार दिन, रगत बग्न रोकिएको थिएन । एकातिर अप्रेशन गरेका घाउ दुख्दै थियो । त्यहीबेला अस्पतालको बेडबाटै प्रहरीले उठाएर जेलभित्र पुर्‍यायो । अस्पतालमै लगाएको एकसरो लुगाभन्दा शरीरमा अरु लुगा थिएन ।

‘जेलको चिसो र अँध्यारो कोठामा आमा छोरालाई बस्न कति गाह्रो भयो, यो पीडा कसरी पोखूँ ?’ आँखाभरि आँसु पार्दै उजेलीले भनिन् । जेलभित्र उजेली जस्तै धेरै महिला थिए । तर नेपाली चेली चहिँ उजेली मात्रै थिइन् । साँझ बिहान खाना त पाइन्थ्यो, तर खान मन लाग्दैनथियो ।

एकदिन त सोचिन्, यो बच्चालाई राति कसैले नदेख्ने गरी मारी दिउँ, तर मनले मानेन । पछिपछि माया बढ्दै गयो । उजेलीले तीन महिना जेलभित्र बिताइन् । एक दिन साँझको चार बजेको समय थियो । प्रहरीले भन्यो, ‘आज तिम्रो नेपाल जाने टिकट छ, तयारी भएर बस्नु ।’

टिकट कसले काट्यो, कसले कुरा गर्‍यो भन्ने समेत उनलाई थाहा थिएन । प्रहरीले उनलाई एअरपोर्टमा छोड्यो । न हातमा पैसा, न त लुगा । साथमा थियो त तीन महिने छोरा ।

उजेली जहाजमा चढिन् । मनमा अनेक कुरा खेल्न थाले । घर कसरी फर्कनु ? कसलाई बोकेर ल्याइस भने के उत्तर दिनु ? घर नजाउँ भने काठमाण्डौमा चिनेको कोही छैन, के गर्ने ?

पुसको कठ्यांग्रिँदो चिसो । रातको १ बजेको थियो । उजेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन् । मन झन् चिसो हुँदै गयो ।

कहाँ जाने यो राति ? आफन्त कोही छैनन् । होटलमा जान पैसा छैन । लाग्यो बरु जेलभित्रै ठिक थियो ।काखमा तीन महिने छोराबाहेक अरु साथमा केही थिएन । ६ घण्टाको यात्रामा पानी मुखमा नराखी नेपाल आइपुगेकी थिइन्। जहाजबाट सबै झरे । आफ्नो सामान बोकेर गन्तव्यतिर लागे । उजेली त्यहीँ बसेर रुन थालिन् ।

उनलाई रोएको प्रहरीले देखेपछि पौरखी नेपालबाट राति नै उनलाई लिन मान्छे विमानस्थलमै पुगे ।

उनी काठमाण्डौका धेरै सेल्टर रुममा पालैपालो बसिन् । सेफहाउसमा बस्दा उजेलीले हाउस कुकिङको तालिम लिइन् । अहिले उनी यही सीप सिकेर काठमाण्डौकै एक होटेलमा काम गरिरहेकी छिन् ।

२० महिना घरेलु कामदार, चार दिन अस्पताल र तीन महिना जेलमा बसेर उजेली नेपाल फर्केको पनि वर्ष दिन भैसक्यो । ओमानबाट ल्याएको नासो पनि १५ महिनाको पुगिसक्यो ।

‘बाहिर भित्र हिँड्छ, कहिलेकाहीँ ती काला दिनहरुलाई सम्झेर रुँदा उ मेरो मुखमा हेर्छ, अब त मेरो सहारा नै होला’, उजेलीले खुइय सुस्केरा हालिन् ।

कमेन्ट गर्नुहोस्
Loading...